वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी

काठमाडौँ । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररुप लिएकोे छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।
