12:04AM
श्रावण ३ गते २०८३

अनलाइनबाटै एनओसी जारी गर्ने तयारी

वैशाख २० गते २०८०
11:48 am
Author Avatar
आर्थिक मञ्च

वैदेशिक अध्ययन अनुमति पत्र एनओसी अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो । एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।

सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ ।

यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण गरेको छ । उनीहरूको माग अनुसार युजर म्यानुअल समेत तयार गरेको प्रमुख वस्तीले बताए ।

अहिले सरोकारवाला निकायहरूका सफ्टवेयर शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ ।

कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा केही ढिलाइ भइरहेको वस्तीको भनाइ छ । हाम्रो सरोकारवाला निकायको पनि सफ्टवेयर हुनुपर्‍यो । १३ वटा विश्वविद्यालय छन् । ती सबैको सफ्टवेयर छैनन्

त्यस्तै एनओसी जारी गर्नका लागि २५ भन्दा बढी सरोकारवाला निकायहरू छन् । जसमा राहदानी विभाग, विश्वविद्यालयहरू, इमिग्रेसन लगायतका सरोकारवाला निकाय रहेका छन् ।

उनीहरूले अनलाइन मार्फत सेवा प्रवाह गरेको खण्डमा मात्र एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्न सक्ने वस्तीको भनाइ छ ।

सरकारकाले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । उक्त निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो ।

हाल अनलाइन आवेदन रूजू भएपछि आफ्नो मोबाइलमा प्राप्त भएको म्यासेजमा एनओसी लिनका लागि दिइएको समयमा कार्यालयमा गएर लिनुपर्ने हुन्छ । तोकिएको मिति र समयमा लिन नसकेको खण्डमा अर्को दिनका लागि समय तोकिँदै आएको छ । र उक्त समयमा गएर एनओसी लिनुपर्ने हुन्छ । तर, अबदेखि रूजु भएको एनओसी लिनका लागि कार्यालयमा पुग्नुनपर्ने र अनलाइनबाटै प्रिन्ट गर्न मिल्न लागेको हो ।

रिप्लाई गर्नुहोस