12:45AM
जेठ ११ गते २०८२

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

वैशाख २७ गते २०८२
8:10 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ । अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रथ सोसियलमा लेख्नभएको छ ।

सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेको भन्दै उहाँले दुवै देशलाई बधाई दिनुभएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । भारतीय समयानुसार आज बेलुकी ५ बजेदेखि दुवै पक्षले जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको विदेश सचिव मिश्रीले बताउनुभयो ।

गएको महिना भारत‍ प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा २६ जना पर्यटकको ज्यान गएपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । भारतले पाकिस्तानलाई आतङ्ककारीलाई सघाएको आरोप लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो । पहलगाम आक्रमणको जवाफ दिन भन्दै भारतले यो हप्ता पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ठाउँमा हवाई हमला गरेको थियो । त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गरेको अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको आरोप लगाउँदै आएका थिए । ती आक्रमणमा दुवै देशमा मानिसहरू हताहत भएको विवरण आएको छ ।

रिप्लाई गर्नुहोस