01:39AM
असार ३ गते २०८२

भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ

चैत्र २७ गते २०८१
12:52 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपालका चार जिल्लाबाट दुई भारतीय नागरिकसहित ९ जना अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाबाट ४ जना, ललितपुर र बाराबाट २/२ जना तथा उदयपुरबाट एक जना गरी ९ जना पक्राउ परेका हुन् । बर्दियाको बारबर्दिया नगरपालिका ४ कुसुम्वा घाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम, नगद ३ हजार ६ सय ४६ रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार साँझ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका ८ कोकिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र सोही नगरपालिका–७ खाले गुलेरिया बस्ने २२ वर्षीय राजकुमार अहिर छन् । इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बर्दियाकै बढैयाताल गाउँपालिका २ फुटाहबाट ८ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध, २२ हजार ५ सय नगद र २ थान मोबाइलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ ठूलोडाँफे बस्ने ३५ वर्षीय सुमित शाही र ३० वर्षीय अनिल थापा रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका ३ धोबीघाटबाट पनि नियन्त्रित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी ७ घर भई ललितपुरको गोदावरी नगरपालिका १४ बाडेगाउँ बस्ने २५ वर्षीय सुजन क्षेत्री र रामेछापको खाँडादेवी गाउँपालिका ८ घर भएका २४ वर्षीय दिपेश भण्डारी छन् । उनीहरुको साथबाट ट्रामाडोल ३ हजार ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले बा.९२ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार साँझ उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको बेलका नगरपालिका ९ भचुवा बस्ने २१ वर्षीय दिवस विकलाई पनि प्रहरीले अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्रामसहित बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै बाराको फेटा गाउँपालिका ३ चौतारा नजिक घोडासाहनबाट २ जना बुधबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको शिवनगर इनर्वा पञ्चायत पूर्वी चम्पारण-२ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ना.३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक टुटु कुमार र ट्याक्टरमा सवार टुटु अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस