कोशी प्रदेशसभा सांसद लीलावल्लभ अधिकारी पक्राउ
काठमाण्डौ । कोशी प्रदेशसभा सचिवालयले प्रदेश सांसद लीलावल्लभ अधिकारी पक्राउ परेको बारेमा जानकारी गराएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक सूचना प्रकाशन गरेर पूर्वमन्त्री एवम् नेकपा एमाले कोशीका सांसद लीलावल्लभ अधिकारी पक्राउ परेको जानकारी गराएको हो ।
सांसद अधिकारीलाई हिजो प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाण्डौ ल्याएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले निकाल्नुभएको सूचनामा लिखत तथा मानव बेचबिखनसम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।