बाँकेमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली प्रहार

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डीएसपी डाँगीले बताउनुभयो । परियारको बायाँ खुट्टामा गोली लागेको र अहिले भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरूको साथमा रहेको एक सय १४ दशमलव २५ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।
