सहकारी ठगी प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले तीन जनालाई पक्राउ गरेर ठगीको कसूरमा अनुसन्धान अघि बढाएको हो । पक्राउ परेकाहरूको हकमा सीआईबीले अहिलेसम्म औपचारिक रुपमा केही बोलेको छैन ।
सीआईबी उच्च स्रोतका अनुसार पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समिति सदस्य रामहरि अधिकारी छन् । ‘तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरेका छौं । उनीहरूबाट केही नयाँ तथ्य खुले थप व्यक्तिहरू पक्राउ पर्ने र अनुसन्धानको काम अघि बढ्छ’ सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो ।
त्यसैगरी यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा ५ फागुनमा पक्राउ गरेका ओमप्रकाश गुरुङ र दुर्गा चापागाईंलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान गराएको छ । बुटवलको सुप्रिम सहकारीका अध्यक्ष रहेका ओमप्रकाश हाम्रो नयाँ कृषिका सचिव रहेको पाइएपछि उनलाई झिकाएर बयान कागज गराइएको हो । सुप्रिम सहकारीकै भैरहवा शाखा व्यवस्थापक रहेकी दुर्गा पनि हाम्रो नयाँ कृषि सहकारीका सञ्चालक सदस्य रहेको पाइएपछि उनलाई काठमाडौं झिकाएर सीआईबीले बयान लिइसकेको छ ।
हाम्रो नयाँ कृषि सहकारीबाट पीडित भएको भन्दै अहिलेसम्म २१ जनाले सीआईबीमा जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार करिब साढे २ करोड रुपैयाँ अपचलन भएको छ । २१ जना बचतकर्ताले ७ जनालाई प्रतिवादी बनाउँदै सीआईबीमा जाहेरी दिएका थिए । जसमध्ये उपाध्यक्ष लिलाबहादुर गुरुङ, नयाँ कृषिका सचिव ओमप्रकाश गुरुङ, कोषाध्यक्ष नवीन अछामी, सञ्चालक समिति सदस्यहरू रामहरि अधिकारी र दुर्गा चापागाईं अहिले प्रहरी हिरासतमा छन् ।
दुई जना अहिलेसम्म फरार छन् । फरार हुनेहरूमा सहकारीका अध्यक्ष जीबी गितेन्द्रबाबु राई र सञ्चालक समिति सदस्य असरफ अलि सिद्दिकी छन् । जीबीविरुद्ध भने यसअघि नै पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रेड नोटिस समेत जारी भइसकेको छ । सुरूमा इन्टरपोलले १३ माघमा जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै पुनः रेड नोटिसका लागि पत्राचार गरिएको थियो । २१ फागुनमा इन्टरपोलमार्फत जीबीविरुद्ध रेड नोटिस समेत जारी भइसकेको थियो ।
त्यति हुँदा समेत जीबी ल्याउने प्रक्रिया लामो हुने भन्दै परराष्ट्रमार्फत मेलेसियन सरकारलाई पत्राचार गरिएको थियो । तर मलेसियामा रहेका भनिएका जीबी अहिलेसम्म पक्राउ परेका छैनन् । उनै जीबी हाम्रो नयाँ कृषि सहकारीमा पनि जोडिएका छन् । काठमाडौं बालुवाटारमा रजिष्टर्ड कार्यालय रहेको यो सहकारीको कार्यक्षेत्र नेपालभर थियो । २०७० सालमा स्थापना भएको उक्त सहकारीले कोभिडपछि देशका विभिन्न स्थानमा किसानलाई प्रलोभनमा पारेर सेयर सदस्य बनाएर बचत रकम संकलन गर्ने गरेको देखिन्छ ।
२७ साउन २०७७ मा भएको सहकारीको आठौं वार्षिक साधारणसभाबाट सूर्यबहादुर गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको थियो । उक्त सञ्चालक समिति उपाध्यक्षमा वर्तमान श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद डोलप्रसाद डीपी अर्याल थिए । मन्त्री अर्याल समेत कुनै समय सञ्चालक समितिको उपाध्यक्ष रहेको सहकारीका पाँच जना पक्राउ परेपछि अनुसन्धान कुन तहसम्म पुग्छ भन्ने प्रश्न उब्जिएको छ । तर यसबारे अहिले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेको भन्दै सीआईबीले केही पनि बोलेको छैन ।
यता मन्त्री अर्यालले भने आफू नै सहकारीबाट पीडित भएको र २३ लाख उठाउन बाँकी रहेको दाबी गर्दै आएका छन् । मन्त्री अर्यालका साथै कुनै समय रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहकारी सञ्चालक समिति सदस्य थिए । २०७७ सालमा सहकारी उपाध्यक्ष बनेका वर्तमान श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री बुर्लाकोटीकै सक्रियतामा २०७९ मा भएको दशौं वार्षिक साधारण सभाबाट जीबी राई अध्यक्ष बनेका थिए ।
जीबी हाम्रो नयाँ कृषि सहकारीको अध्यक्ष बनेपछि उनले आफू प्रत्यक्ष संलग्न रहेको काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला, चितवनको सहारा चितवन र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्ज गर्ने भन्दै सहकारी विभागमा निवेदन समेत दिए ।
