राष्ट्रियस्तरमा खेलकुदको विकास हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६०औँ वार्षिकोत्सव समारोहमा आज उनले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।
पोखरा रंगशाला, बेलझुन्डी रंगशाला, च्यासल रंगशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रंगशाला, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरको रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए ।
सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए । पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धि हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए । उनले पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय संघहरू निर्क्योल गरेको पनि बताए ।