10:08PM
माघ ३० गते २०८१

भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताए गगनकुमार थापा

फागुन १० गते २०८०
7:24 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसको वरिपरि नराखे पार्टीको शक्ति आफैँ बढ्ने बताए ।

भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसले वरिपरि राख्दिनँ भन्नुपर्छ, उनले भने, त्यसपछि हाम्रो शक्ति आफैँ बढ्छ ।

थापाले सरकारमा गएर पनि काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने पनि बताए ।

काम गर्न नसकेको मन्त्रीलाई विश्राम दिऔँ, फिर्ता बोलाऔँ, उनले भने, भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछौँ । तपाईंहरू संगठन निर्माणमा ध्यान दिनू, कांग्रेसले यो यो गर्‍यो भनेर जनतालाई सुनाउनू ।

उनले पार्टी एक्लै चुनाव लड्न सक्ने विषयमा पनि प्रस्ट पारे । कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुती राखेर यो हलबाट बाहिर जाने हो । पार्टीभित्र न्याय र सम्मान होस् भन्नुभएको छ । हामीलाई जिम्मेवारी दिनुभएको छ, उनले भने, नेपाली कांग्रेसले देशको सबै समस्या समाधान गरोस् भनेर तपाईंहरूले भन्नुभएको छ । बीपीले भन्नुभएको थियो– इतिहासले गौरव दिए जिम्मेवारी पनि लिनुपर्छ । हामी त्यो लिन तयार छौँ । हाम्रो इतिहासप्रति गौरव पनि छ ।

महामन्त्री थापाले नेताको नाममा सहकारीबाट ठग्नेलाई कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने पनि बताए । उनले ०८४ मा सरकारमा जाने कुरा नभई पार्टी अहिले नै सरकारमा रहेको र यो बेला गरेको काम लिएर चुनावमा जानुपर्ने बताए ।

हामी ०८४ मा सरकारमा जान्छौँ होइन, अहिले नै सरकारमा छौँ । अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ, फेरि सरकारमा जाऔँ । ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले पेस गर्नुपर्ने छ, थापाले भने ।

रिप्लाई गर्नुहोस