ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने

काठमाडौं । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने भएको छ। आजै फैसला सुनाउने तयारी गरे पनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। फैसला सुनाउने तयारी आजै थियो। तर अबेर हुने देखिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब भोलिमात्रै फैसला सुनाइन्छ, प्रवक्ता कार्कीले बताए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन्। आयोगले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिबाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ। राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ।
