२ खेलअघि नै न्युजिल्यान्डले जित्याे पाकिस्तानसँगकाे टी–२० क्रिकेट शृङ्खला

काठमाडौं । न्युजिल्यान्डले पाकिस्तानसँगको ५ खेलको टी–२० क्रिकेट शृङ्खला २ खेलअघि नै जितेको छ । आज भएको तेस्रो खेलमा पाहुना टोलीलाई ४५ रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला जितेको हो ।
न्युजिल्यान्डले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रनमात्र बनाउन सक्यो । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५८ रन बनाए । न्युजिल्यान्डका टिम साउदीले २ विकेट लिए ।
यसअघि युनिभर्सिटी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय २४ रन बनायो । न्युजिल्यान्डका ओपनर ब्याटर फिन एलेनले शतक बनाए । एलेनले ६२ बल खेल्दै १६ छक्का र ५ चौकाको मद्दतमा १ सय ३७ रन बनाए । उनले एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बराबरी गरेका छन् । यसअघि सन् २०१९ मा अफगानिस्तानका ओपनर ब्याटर हज्रतुल्लाह जजईले आयरल्यान्डसँगको खेलमा १ सय ६२ रन बनाउँदा १६ छक्का प्रहार गरेका थिए ।
यस्तै एलेन न्युजिल्यान्डबाट टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बनेका छन् । यसअघि सन् २०२२ मा दक्षिण अफ्रिकासँगको खेलमा सुजे बेट्सले नट आउट १ सय २४ रन बनाएका थिए ।
आजको खेलमा पाकिस्तानका हरिस रौफले २ विकेट लिए । न्युजिल्यान्ड पहिलो खेलमा ४६ र दोस्रो खेलमा २१ रनले विजयी भएको थियो । शृङ्खलाको चौथो खेल पर्सि शुक्रवार र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।
