12:10AM
माघ ३० गते २०८१

पुष्पलाल र बीपीको जन्मस्थानलाई पर्यटनस्थलको रूपमा विकास गर्छु : प्रधानमन्त्री प्रचण्ड

पौष १९ गते २०८०
8:28 PM
Author Avatar
आर्थिक मञ्च

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरी र बीपी कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जालाई राजनीतिक पर्यटनस्थलको रूपमा विकास गर्ने बताउनुभएको छ । आज बिहीवार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले मध्यपहाडी लोकमार्गको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट सङ्घीय सरकारले व्यवस्थापन गर्ने र रामेछापको विकासका लागि पनि सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि सरकारले ऐन कानुन बनाएर प्रदेश र पालिकालाई अझ बलियो बनाउने गरी काम भइरहेको उहाँको भनाइ छ । प्रचण्डले अहिलेको गठबन्धनको सरकार कुनै पनि हालतमा नटुट्ने भन्दै आफ्नो एक वर्षे कार्यकालमा आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख काम भएको दाबी गर्नुभयो । भारतलाई १० वर्षका लागि १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिले आज सार्थकता पाएको भन्दै बङ्गलादेशमा पनि बिजुली बिक्रीका लागि पहल गर्ने बताउनुभयो । सुनापति गाउँपालिकाको सुविधा सम्पन्न नवनिर्मित भवन झन्डै तीन करोड ४८ लाख ५० हजार रुपैयाँको लागतमा बनेको हो । यो भवनमा १० वटा कार्यालय कक्ष र एउटा सभाहल रहेको छ ।

प्रधानमन्त्रीले आजै सुनापतिको बेथानमा रहेको पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवारका सदस्लाई सम्मानसमेत गर्नुभएको थियो । यो ठाउँमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणका क्रममा बेथानका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनको ज्यान गएको थियो । यो ठाउँमा बनेको शहीद पार्कको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुभएको थियो । माओवादीले पुस १९ गतेलाई वीरता दिवसको रूपमा मनाउँदै आएको छ ।

रिप्लाई गर्नुहोस