05:34AM
असार २१ गते २०८२

नेकपा एमाले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका निम्ति संकल्पयात्राका क्रममा देखिएको मध्यपहाडको समस्या

पौष ८ गते २०८०
5:23 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेकपा एमाले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका निम्ति संकल्पयात्राका क्रममा देखिएको मध्यपहाडको समस्या र समाधानका लागि गरिएको संकल्प सार्वजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले संकल्प सार्वजनिक गरेका हुन् । मध्यपहाड क्षेत्र जलस्रोतको भन्डार भएकाले विकासको सुनिश्चित ढाँचा निर्धारण गर्न सके कायापलट गर्न सकिने निष्कर्ष एमालेले निकालेको छ ।

“जलस्रोतको त यो क्षेत्र भन्डार नै हो, जहाँ पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, कालीगण्डकी, मध्यमर्स्याङ्दी, बूढीगण्डकी, सुनकोसी, दूधकोसी, अरुण, तमोर र काबेलीजस्ता परियोजनाहरू सञ्चालनमा छन् या सञ्चालनको पर्खाइमा छन्,” अध्यक्ष ओलीले गराएको संक्षिप्त जानकारीमा भनिएको छ, “यी योजनाहरूको सही कार्यान्वयन र परियोजनाको लाभ स्थानीय समुदायले पनि न्यायोचित रूपमा पाउने सुनिश्चित ढाँचा निर्धारण गर्न सके यस क्षेत्रको कायापलट गर्न सकिने निष्कर्ष हामीले निकालेका छौँ ।” युवाको विदेश पलायनले समस्या निम्तन थालेको अनुभव एमालेले गरेको छ । उक्त क्षेत्रमा बसाइँसराइ मुख्य समस्या रहेको एमालेको निष्कर्ष छ । पछिल्लो समय बाँदर, बँदेल, दुम्सी, घोरललगायत वन्यजन्तुका कारण बालीनालीमा नोक्सानी र पीडा पनि किसानको बसाइँसराइको महत्त्वपूर्ण कारक बन्न पुगेको ठम्याइ छ । यसको दिगो समाधान अनिवार्य देखिएको एमालेले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत कतिपय ठाउँमा यात्रा नै गर्न नसकिएको भन्दै समस्या समाधान गर्न एमालेले आग्रह गरेको छ । “कास्की–लमजुङखण्ड र सिन्धुपाल्चोक र रामेछापका कतिपय भूभागमा यही लोकमार्ग भएर यात्रा गर्न सकिएन । त्यसका लागि कास्की, काभ्रे र दोलखाका वैकल्पिक बाटोहरू प्रयोग गर्नुपर्‍यो । कतिपय ठाउँमा ठेक्का लगाउनै बाँकी देखियो भने कति ठाउँमा ठेकेदारहरूले काम अलपत्र पारेर जनतालाई सास्ती दिएको देखियो,” एमालेले भनेको छ, “प्रदेशस्तरमा हेर्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा जत्ति पनि काम वाग्मती र कोसी प्रदेशका जिल्लामा हुन सकेका छैनन् । यी सबै समस्याको अविलम्ब समाधान आवश्यक छ ।” एमालेले मध्यपहाडको विकासका सम्भावना र चुनौतीका आधारमा पार्टीले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस योजना सार्वजनिक गर्ने संकल्प गरेको छ । यसका निम्ति विज्ञ, जनप्रतिनिधि र सरोकारवाला पक्षसँग छलफल र अध्ययन गरिने एमालेले जनाएको छ । पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउनेसहित सात संकल्प र निष्कर्ष एमालेको छ ।

रिप्लाई गर्नुहोस