ग्लोबल आईएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न

काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभा बिहीवार काठमाण्डौमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९र०८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको आठ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश शेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९र८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड र करपछिको मुनाफा छ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो । उहाँले बैंकले आउँदा दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउनुभयो ।साधारणसभाले संस्थापक शेयरधनी समूहबाट तीन र सर्वसाधारण शेयरधनी समूहबाट तीन गरी छ जना सञ्चालकको चुनाव गरेको छ । संस्थापक शेयरधनीमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित हुनुभएको छ भने सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । सबै सञ्चालक समिति सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । आर्थिक वर्ष २०७९र८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा छ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ९९ प्रतिशतले वृद्धि भई छ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले यही अवधिमा चार खर्ब ३९ अर्बभन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै तीन खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले तीन सय ५५ शाखा, तीन सय ७६ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
