जबरजस्ती करणी आरोपमा इलामका एक व्यक्तिलाई जन्मकैद
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जनाइएको छ ।
पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । घरमा कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो ।
