भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइयो

काठमाण्डौ । बिस्का जात्राअन्तर्गत आज भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ । २८ वर्षीय सुजनले मध्यपुरथिमिको बोडेमा मौलिक शैलीको जात्रामा जिब्रो छेड्नुभयो । उहाँले गएको वर्ष पनि जिब्रो छेडाउनुभएको थियो । हरेक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ ।
मध्यपुरथिमि–२ मा रहेको गणेश मन्दिर अगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिन्छन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यसैबीच भक्तपुरवासीले सिन्दूर खेलेर सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गण २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।
