04:19AM
पौष ७ गते २०८२

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र– हाम्रो आत्मबल घट्यो, देश फर्किन मन छ

असाेज २२ गते २०८०
1:11 pm
Author Avatar
आर्थिक मञ्च

इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै छिट्टो भन्दा छिट्टो उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । अन्नपूर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइ दिने आग्रह गरेका हुन् ।
कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’ सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।
विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ

प्रधानमन्त्री ज्यू, हाम्रो आत्मबल घटेको छ, सपनाको संसार भत्किँदै गइरहेको छ, हामीलाई देश आउने वातावरण बनाइ दिनुहोस
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु(११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्टै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।

आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौं ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ ।
१)कृषि तथा वन विज्ञान विश्वविद्यालय
२) त्रिभुवन विश्वविद्यालय
३) सुदुरपश्चिम विश्वविद्यालय
सँगसँगै यहा अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनु हुनेछ । यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
(युद्धको चपेटामा परेको नेपाली) सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)

Kadesh Barnea, Israel

972512825166

(नेपाली ठेगाना) 
– अन्नपूर्ण गा।पा – २ कास्की)

रिप्लाई गर्नुहोस