सुनील थापाको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो। चार दशकभन्दा लामो समय अभिनय, मोडलिङ र खेलकुद क्षेत्रमा सक्रिय रहनुभएका थापा राते काइलाका नामले आम दर्शकमाझ अत्यन्त लोकप्रिय थिए। विशेषगरी चलचित्रमा खलनायकुको भूमिकालाई पनि नायक सरहको उचाइ र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ।
उनको निधनप्रति नेपाली कांग्रेसले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले एक सन्देश जारी गर्दै थापाको निधनबाट नेपाली र भारतीय चलचित्र क्षेत्रले एक सशक्त र बहुआयामिक व्यक्तित्व गुमाएको र यसले चलचित्र उद्योगमा अपूरणीय क्षति पुगेको बताएका हुन्। सभापति थापाले स्वर्गीय थापाको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा थापाको योगदानलाई नेपाली चलचित्र इतिहासमा सदा अमिट रहने उल्लेख गरिएको छ। नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा आफ्नो अभिनयको छाप छोड्न सफल थापाको निधनले कला क्षेत्रमा ठूलो रिक्तता पैदा भएको कांग्रेसले जनाएको छ।