साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु

काठमाडौँ । साझा यातायातको ठक्करबाट काठमाडौँको जमलमा साइकलयात्रीको मृत्यु भएको छ । मंगलबार बिहान विश्वज्योति हल नजिकै बा५ख ८७६१ नम्बरको बसको ठक्करबाट घाइते भएका अम्बर बहादुर बोगटीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । मृतक ओखलढुंगाको रानीवन नगरपालिका–७ घर भएर डल्लु बस्दै आएका थिए । भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको साझा यातायातका चालक रामहरि नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए । यसैबिच साझा यातायात सहरकारी संस्थाले घटनाबारे समवेदना व्यक्त गर्दै अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
