11:30PM
चैत्र १३ गते २०८१

नेपालमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा

असाेज २३ गते २०८१
7:21 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । मंगलबार एन्फाले ललितपुरमा पत्रकार सम्मेलन गर्दै कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ८ हजार १६० अमेरिकी डलर रहेको शाहले उल्लेख गरे ।

च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

रिप्लाई गर्नुहोस