01:25AM
असार ३ गते २०८२

लुम्बिनी प्रदेशसभाले स्थानीय सेवाको गठन गर्न बनेको विधेयक पारित

भाद्र २७ गते २०८१
7:31 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । लुम्बिनी प्रदेशसभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३० औं बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय सेवाको गठनसम्बन्धी विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि उक्त प्रस्तावलाई प्रदेशसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । समितिले दुई पटक प्रतिवेदनसहितको विधेयक सभामा पेश गरेको थियो । विधेयकमा कर्मचारी परिचालनको बिषयहरु समावेश गर्न माग राख्दै कर्मचारीहरुले सांसदमार्फत ध्यानाकर्षण गराएका थिए ।

स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ ।

प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेश गर्नुपर्ने, स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेश गर्नुपर्ने, गर्भवतीलाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिनासम्म बिदा पाउने अधिकार हुने व्यवस्था विधेयकमा छ ।

प्रसुति बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागि शिशु स्याहार खर्च दिइने, कल्याणकारी कोष तथा पुरस्कारको व्यवस्था गर्ने प्रावधान समावेश छ । करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाएसरह बिदा पाउने लगायतका विषयलाई राखिएको छ ।

रिप्लाई गर्नुहोस