प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र भट्टराईबीच भेट भएको हो।
भेटका क्रममा भट्टराईले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनेकोमा धन्यवाद दिएका हुन्। ओलीले आफ्नो सामाजिक सञ्जालमा अन्य समसामयिक राजनीतिक विषयमा छोटो कुराकानी भएको पनि उल्लेख गरेका छन्।
‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो। संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनेकोमा उहाँले धन्यवाद दिनुभयो। समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो,’ ओलीले लेखेका छन्। भेटमा भट्टराईले सक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा १९ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएका थिए। गत भदौ १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका थिए। साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएपछि भदौ ६ गते राष्ट्रिय सभामा पारित भएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।
‘
