सर्लाहीमा उखुखेती घटेयो किसानहरूले उखुखेती छाड्दै
काठमाडौं । सर्लाहीमा उखुखेती घटेको छ । लागतअनुसार मूल्य नपाउने, समयमा उखुको भुक्तानी नपाउनु लगायतका कारण किसानहरूले उखुखेती छाड्दै गएका सर्लाहीको हरिवनका उखु किसान रामशरण उप्रेतीले बताउनुभयो ।
उप्रेती भन्नुहुन्छ, ‘धेरै किसानले उखुखेती गर्न छाडे, किसानले उखुको साटो अन्य बाली लगाउन थालेका छन् । सरकारको बेवास्ता, उद्योगको मनपरी मूल्य र बिचौलियाको प्रभावका कारण उखुखेती सङ्कटमा परेको हो, मिलगेट क्षेत्रमा नै उखुखेती गर्ने किसान आधाले घटेका छन् ।’
उखुखेती छाडेर धान, मकै, गहुँ र दलहन खेती गर्न थालेको श्रीपुरका किसान देवशंकर रायले बताउनुभयो । ‘२०४१ सालदेखि नै लगातार उखुखेती गर्दै आएको थिएँ, उधारोमा उखु बिक्री गर्नुपर्ने र उद्योगसँग धेरै खुसामत गर्नु परेपछि खेती छोड्दै गएँ’, राय भन्नुहुन्छ, ‘उखुको भुक्तानी लिन १८ महिना पर्खिनुपर्छ, धान मकैबाट ६र६ महिनामा पैसा आउँछ । उखुखेती गरेर घर खर्च घान्न र छोराछोरी पढाउन सकिँदैन ।’
उखु खेतीभन्दा धान, मकै, गहुँ खेतीबाट राम्रो फाइदा हुने भएपछि उखुखेती गर्ने किसानको सङ्ख्या घटेको हो । चिनी उद्योगले उचित मूल्य दिन नसक्दा उखुखेती गर्ने किसानहरूको सङ्ख्या घट्दै गएको नेपाल उखु उत्पादन महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।
‘सरकारले उखुखेती गर्ने किसानलाई आकर्षित गर्न सकेन, सरकारको जवाफदेहिता नहुनु र उद्योगको बेवास्ताले उखु खेती घट्दै गएको हो । उखुखेतीलाई नगदेबाली भने पनि किसान उधारोमा उखु बिक्री गर्न बाध्य छन् । सरकारले दिने अनुदानको रकम लिन किसानले एक वर्ष पर्खिनुपर्छ, लागत मूल्य बढ्दो छ, उखुखेती गर्दा किसानलाई फाइदा हुँदैन, त्यही भएर प्रत्येक वर्ष उखुखेती घट्न थालेको हो’, मैनाली भन्नुहुन्छ, ‘किसानलाई उखुखेतीतर्फ आकर्षित गर्ने हो भने लगानीको आधार बनाएर मूल्य निर्धारण गर्नुपर्छ, सरकारले यसतर्फ बेलैमा ध्यान दिएन भने धेरै उद्योग बन्द हुन्छन् । बेरोजगारीको सङ्ख्या अझ बढ्छ र चिनीमा परनिर्भर हुनुपर्छ, उखुको अभावमा यो वर्ष पनि क्रसिङ सिजनमा नै उद्योग बन्द भयो । देशका लागि यो राम्रो सङ्केत होइन ।’
गएको आर्थिक वर्ष सर्लाहीमा रहेको इन्दुशंकर चिनी कारखानाले ३६ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेकोमा उखु अभावमा २९ लाख ५० हजार क्विन्टल मात्रै क्रसिङ गरेको जनाएको छ । उस्तै क्षमता रहेको महालक्ष्मी सुगर मिलले १७ लाख क्विन्टल मात्रै क्रसिङ गरेको छ । तीन वर्षअघिको तुलनामा सबै मिलले आधाभन्दा पनि कम उखु क्रसिङ गर्न थालेका छन् ।