परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाण्डौ । भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटपछि परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँग फलदायी भेट भएको बताउनुभएको छ । उहाँले भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने उहाँको विश्वास छ ।
परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यतालिका छ । हिजो नयाँ दिल्ली जानुभएकी पराष्ट्रमन्त्री राणा आउँदो बिहीवार स्वदेश फर्किने कार्यक्रम छ । उहाँको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
