पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकमा उनले वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राखेका थिए । संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै उनले शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका प्रवक्ता अग्नि सोपकोटाले जानकारी दिए ।
बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने बताएका थिए । नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई सोहीअनुसार सुदृढीकरण गर्नुपर्ने उनले धारणा व्यक्त गरेका थिए । उनले स्पष्ट नीति, योजना, नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएका प्रवक्ता सापकोटाले बताए ।
वामपन्थीलाई एकताबद्ध गर्न समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग छलफल भइरहेको र छिटै परिणाम निस्कने समेत उनले बताएका सापकोटाले जानकारी दिए । बैठकमा प्रचण्डसहित उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायत १३ सदस्यले धारणा राखेका उनले जानकारी दिए । बैठक आइतबार पुनः बस्ने उनले बताए ।
