05:07PM
फागुन २७ गते २०८१

काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा

चैत्र २९ गते २०८०
7:33 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिकरूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमामात्रै आठ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए । तर, दरबारमार्गजस्तो ठमेलमा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको उनको भनाइ छ ।

अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौती रहेको बताए । वैशाख १ देखि स्वदेशी तथा विदेशी पर्यटकले चौबिसै घण्टा ठमेलमा घुम्न, बस्न र खान सक्नेछन् । तर, ठमेल भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने उनको भनाइ छ । भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने उनले बताए ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब २०० व्यवसायी रहेको बताए । उनले करिब सातहजार भन्दा बढीले रोजगारी पाएको बताए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताए ।

रिप्लाई गर्नुहोस