सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाए

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान १० बजे सभामुखसहित शीर्ष नेताहरुको छलफल हुनेछ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।
गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधन तथा गृहमन्त्री लामिछानेमाथि संसदमा प्रश्न उठाउँदै आएको छ । लामिछाने सहकारीको रकम हिनामिनामा आरोपित रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ । यसमा सत्तारुढ दलहरु तयार भएका छैनन् । यसअघि चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्व प्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए ।
प्रतिनधि सभाको बैठक यही चैत २७ गते बस्दैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।