नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित
काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । आइतबार भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । रोहितसँगै अविजित रहेका अनिल साहले ३२ रन थपे । यी दुई ३४–२ को अवस्थाबाट तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका हुन् ।
यसबाहेक, ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले क्रमशः १७ र १६ रन बनाए । गुजरातका हेमांग पटेल र तेजस पटेलले समान एक विकेट लिए । त्यसअघि नेपालका मध्यम गतिका बलरले आठ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले १८।२ ओभरमा सबै विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो
गुजरातलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले चार विकेट लिएका थिए । चार ओभर बलिङ गरेका गुल्सनले २२ रन खर्चिए । करण केसीले तीन विकेट लिए । उनले ३।२ ओभरमा २२ रन खर्चिए । यस्तै, सोमपाल कामीले एक विकेट हात पारे ।गुजरातका रुद्र पटेलले सर्वाधिक २३ रन बनाएका थिए । हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन थपे । गुजरातका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । नेपालले अब अप्रिल २ मा बरोडासँग खेल्नेछ । यसपछि अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।
