07:59AM
जेठ १ गते २०८२

थापाथली स्त्री तथा प्रसूति अस्पतालबाट चोरी भएको शिशु र चोर्ने व्यक्तिको खोजी कार्य जारी

फागुन ११ गते २०८०
7:08 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट चोरी भएको शिशु र चोर्ने व्यक्तिको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली यतिखेर सीसीटीभी फुटेजका आधारमा शिशु चोर्ने व्यक्तिको खोजी गरिरहेका छन् ।

शुक्रबार दिउँसो करिब १ बजेको घटनाबारे शिशुका बुवा पुजन श्रेष्ठले गरेको कुराकानीमा घटनाको विवरण यस्तो छ ।

काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ घर भएका हामी काठमाडौंको कपनमा बस्दै आएका छौँ । चोरी भएकी छोरी हाम्रो पहिलो सन्तान हुन् । गएको माघ १५ गते यही अस्पतालमा उनी जन्मिएकी हुन्, जन्मिएको तीन दिनपछि १८ गते अस्पतालबाट डिस्चार्ज भएको थियो । तर, घर लगेको आठ दिनपछि नाइटोबाट रगत बग्ने समस्या देखियो, अस्पताल ल्याउँदा जन्डिस भएको थाहा भयो । पछिल्लो १४ दिन छोरीलाई अस्पताल नै भर्ना गरी उपचार गरायौँ तीन दिनअघि मात्रै यहाँबाट डिस्चार्ज भएको थियो ।

तीन दिनपछि फलोअपमा ल्याउनु भनि डाक्टरले भनेअनुसार आज ९शुक्रबार० फलोअपमा ल्याएको हो । फलोअपमा लिएर मेरी श्रीमती शिशुकी आमा र उनकी भाउजू आएका थिए । भाउजू रिपोर्ट लिन भनि जानुभएछ, छोरी आमासँगै बाहिर घाममा थिइन् । त्यतिकैमा छेवैमा उभिएकी एक महिलाले ‘तपाईंको बच्चा धेरै रोयो म समाइदिन्छु’ भन्दै लिएछन् । र ‘बच्चा लिएर जाँदा छिटो रिपोर्ट दिन्छ’ भन्दै बोकेर हिँडिछन्, त्यतिबेला श्रीमती डाइपर फाल्न लागेकी रहिछिन् ।

डाइपर सफा गरेर फर्किदा छोरी नदेखेपछि उनले हल्लीखल्ली गरिछिन्, त्यतिबेलासम्म बच्चा लिएर महिला भागिसकेकी रहीछन् । हामीले सीसीटीभी फुटेजमा रातो कुर्ता सुरुवाल, सेतो जुत्ता, कालो मास्क लगाएकी पहेँलो ब्याग बोकेकी महिला प्रष्ट देखेका छौँ, प्रहरीले छिट्टै पत्ता लगाइदिन्छ भन्ने ठूलो आश छ । श्रीमतीको अरु स्वास्थ्य अवस्था सबै ठिक छ, तर अहिले उनले धेरै चिन्ता लिएको भएर अरुलाई भेट्न दिएका छैनौँ ।

रिप्लाई गर्नुहोस