बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन सरोकारवाला
काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्काे विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंमा भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स सत्रमा बोल्दै अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।
नयाँ विश्व भनेको नयाँ ग्रह बनाउने नभएर अहिलेको विश्वलाई नै बालबालिका एवं किशोरकिशोरीका समस्यालाई समाधान गर्दै उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न र आफ्नो भविष्य कोर्न सक्ने वातावरण बनाउन पर्ने उनीहरूको भनाइ थियो । उनीहरूले बालबालिका र किशोरकिशोरी भोलिका देश निर्माता भएकाले उनीहरूको सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युएनसीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सम्मेलनले बालबालिका तथा किशोरकिशोरीहरुको आवाज सशक्त बनाउन महत्वपूर्ण हुने बताइन् । उनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले यस्ता चुनौतिलाई समाधान गर्ने उपाय खोजी हुने बताइन् ।
उनले वर्तमान अवस्थामा युद्धमा बालबालिकाको ज्यान जाने डरलाग्दो अवस्था आएकोले बालअधिकारको संरक्षण गर्दै विश्वलाई सुरक्षित रुपमा अघि बढाउन सबैको प्रतिबद्वता आवश्यक भएको बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।
त्यसैगरी डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकाका निमित्त एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीले विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने हुन्छ ।’ उनले विशेषगरी पिछडिएका र आदीवासी बालबालिका जो बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित छन् । उनीहरूका अधिकारलाई बिग्रँदो वातावरणीय प्रभावविरूद्ध लड्नका लागि प्रमुख मुद्दा बनाएर अगाडि जानुपर्ने बताइन् ।
