प्रहरीले रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई पक्राउ

काठमाडौं । प्रहरीले रातको समयमा विभिन्न मिति र ठाउँबाट चोरी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । उपत्यकाका बिभिन्न स्थानबाट मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारत बैसालीका १८ वर्षीय किशोर, भारत मोतीहारीका १९ वर्षीय किसन गिरी, भारत बिहारका २१ वर्षीय कृष्ण पोदार, काठमाडौं नागार्जुन नगरपालिका(६ सितापाइला बस्ने ३० वर्षीय बिक्रम गर्तौला, झापा वाहुनडाँगी नगपरालिका(८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका(९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा रहेका छन् । उनीहरूमध्ये बिक्रम, रमेश र डिल्लीराम सुन पसले रहेका छन् । गत असार १५ गते काठमाडौं शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते काठमाडौं बिजयचोस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट गरी जम्मा १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी भएको थियो। घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी रविन्द्र रेग्मीले बताए । उनीहरूको साथबाट प्रहरीले सुनको पोते सहित नौगेडी ३ थान, सुनको मंगलसुत्र ३ थान, सुनको रिङ ३ थान, सुनको तिलहरी २ थान र सुनको झुम्का २ जोर बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशला पठाइएको छ ।