चिया श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि
सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १३ हजार आठ सय ९३ तोकिएको हो ।
वृद्धि भएको पारिश्रमिकमा चिया बगानका श्रमिकका लागि आठ हजार नौ सय ३४ आधारभूत र चार हजार नौ सय ५९ महँगी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ तोकिएको हो ।
चिया बगानका श्रमिकलाई आधारभूत र महँगी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ । यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ निर्धारण गरिएको छ ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।