07:25AM
वैशाख १५ गते २०८२

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया सर्वोत्कृष्ट

फागुन १९ गते २०७९
5:26 AM
Author Avatar
आर्थिक मञ्च

नेपाली चियाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ ।

चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको हो ।

नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ । चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको र अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको पाइयो ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती रहेको र त्यसबाट २३,७४५ मेट्रिकटन उत्पादन भइरहेको छ । नेपालमा १७ हजार चिया कृषक र ६० हजार भन्दा बढी श्रमिक आबद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको छ ।

रिप्लाई गर्नुहोस