नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ। अन्य पदको विवरण भने आउन बाँकी छ ।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। खुला उपसभापतिमा डा। चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ।
खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले अन्य पदको उम्मेदवारी विवरण संकलन भइरहेको जानकारी दिए ।