अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान
काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२ र८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्व लगायत प्रतिकूल विश्व परिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताए ।
उनले प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान रहेको उल्लेख गरे । चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ प्रतिशत र ७६ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री वाग्लले जानकारी दिए । उनले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व ३ दशमवल २ प्रतिशतले बढेको उल्लेख गरे ।
यस अवधिमा संघीय खर्च १० दशमलव ४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा उल्लेखनीय सुधार हुन नरहेको उनले जानकारी दिए । त्यसैगरी उनले यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी तीन अर्ब सार्वजनिक ऋण परिचालन गरेको र सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ८ अर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गरे ।