11:56PM
माघ १ गते २०८२

त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा माघ १ गतेदेखि सबै उपचार सेवा बन्द गर्ने निर्णय

पौष २८ गते २०८२
7:32 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आउँदो माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डबाट दाबी भुक्तानी नआएका कारण सेवा बन्द गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बोर्डबाट झन्डै ४० करोड रुपैयाँ लिन बाँकी छ । अहिले स्वास्थ्य बीमातर्फ महिनाको पाँच करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ । तर बीमा बोर्डले ५० प्रतिशतमात्र दाबी स्वीकृत गर्ने गरेको छ ।

दररेट शुल्कमा असमानता, लगातार अस्वीकृत दाबी र मासिक झन्डै २ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेपछि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने अवस्था आएको त्रिवि शिक्षण अस्पतालका प्रवक्ता कालीप्रसाद रोसायाराले जानकारी दिनुभयो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतमले स्वास्थ्य बीमाको भार धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । एनसीडी एलायन्स नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारले बीमाका लागि यो वर्ष ११ अर्ब बजेट छुट्याएकोमा अहिलेसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेकोले यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो । पालिकास्तरबाट निःशुल्क दिइने आधारभूत स्वास्थ्य सेवासमेत स्वास्थ्य बीमामा जोडिँदा राज्यमाथि दोहोरो आर्थिक भार परेको उहाँको भनाइ छ । कार्यक्रममा मन्त्री गौतमले नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार थपिएको उल्लेख गर्नुभयो ।

रिप्लाई गर्नुहोस