नेकपा एमालेका जयप्रकाश थारु सहित ५६ जना नेकपा प्रवेश
काठमाडौँ । एमाले लगायत पार्टी परित्याग गरी ५६ जना नेपाली कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन् । शुक्रबार नेकपा प्रवेश गरेका उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जना नेकपा प्रवेश गरेका थिए ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेता कार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गरे। उनले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गरे । नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताए ।