मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने
काठमाडौं । यही मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा साफसँग आबद्ध पाँच देशका महिला लिग बिजेता क्लबहरूको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । सिंगल राउन्ड रोविनका आधारमा खेल खेलाइने र शीर्ष दुई टोलीबीच फाइनल खेल हुने उनले बताए ।
प्रतियोगिताको विजेता टोलीले १० हजार, उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ ।