एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ
काठमाडौं। एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट उक्त रकमका साथै सुनका विभिन्न गरगहनाहरु पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सुनका बाला २ थान, झुम्का ४ थान, औठी ३ थान, नत्थी, सिरबन्दी बरामद भएको छ ।
५ थान मोबाइल, एप्पलको म्याकबुक एक थान, बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार पनि बरामद गरिएको उनले बताए । पक्राउ परेका मध्ये सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ ।उनीविरुद्ध प्रहरी र्वत्त गौशालामा ४ असोज २०७९ र १० फागुन २०७९ मा मुद्दा दर्ता भएको पाइएको छ । पक्राउ परेका दुबै जनालाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।