फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप सन् २०२८ देखि आयोजना गर्ने

काठमाण्डौ । फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ क्लब सीधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ ।
यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार एक विलियन डलर हुने बताएको छ । १४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टीमले भाग लिनेछन् । यसैबीच नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि २०२६ बाटै शुरू गर्दैछ । यो प्रतियोगिता महिला फुटबलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको शुरूवातसँगै महिला फुटबल नयाँ उचाइमा पुग्ने बताएका छन् । हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टोली सहभागी हुनेछन् । क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन ।
