हिमालयन रिइन्स्योरेन्सको आईपीओ ३ करोड कित्ता मंसिर २७ देखि खुल्ने
सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर आईपीओ मंसिर २७ देखि खुल्ने भएको छ । कम्पनीले आह्वान पत्र सार्वजनिक गर्दै आईपीओमा आवेदन माग गरेको हो । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो । कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहको सेयर जारी हुने भएको हो । जसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । न्यूनतम संख्या ९१० कित्ता० का लागि आवेदन दिन कम्तीमा २ हजार ६० रुपैयाँ बैंक खातामा मौज्दात हुनुपर्नेछ । अन्यथा आवेदन रद्द हुन जानेछ । अधिकतम भने ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरोसेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।