09:22PM
फागुन २० गते २०८२

मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

फागुन २० गते २०८२
7:28 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । निर्वाचन आयोगले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्‍याएको छ । चुनावको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गरेको वाचा पूरा गर्ने जिकिर गर्नुभयो । यस्तै उहाँले मतपेटिका सङ्कलन पनि छिटोभन्दा छिटो गर्न प्रयास गर्ने बताउनुभयो ।

सडक पुगेको ठाउँमा गाडीबाटै मतपेटिका ढुवानी हुन्छ । छोटो दुरीका लागि बोकेर पनि ढुवानी हुन्छ । हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ ठाउँबाट भने हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने भन्दै भण्डारीले हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पार्नुभएको छ ।

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अङ्कित लाहाछाप लगाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उहाँले बताउनुभयो । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उहाँले जानकारी दिनुभयो । दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उहाँले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो ।

रिप्लाई गर्नुहोस