09:41PM
फागुन १२ गते २०८२

काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णालीका केही ठाउँमा हल्का वर्षा

फागुन १२ गते २०८२
6:57 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली लगायतका केही ठाउँमा पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाण्डौ, नुवाकोट, लमजुङ, म्याग्दी, पर्वत, कास्की, बागलुङ, रोल्पा, सल्यान, प्युठानलगायतको ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै संखुवासभाको नुममा ३४.६ मिलिमिटर वर्षा मापन भएको छ । रोल्पाको रुलवाङमा २०.८ मिलिमिटर, पर्वतको कुश्मामा २० मिलिमिटर वर्षा मापन भएको छ । ताप्लेजुङमा १७.४ मिलिमिटर, गोरखाको ताकुकोटमा १३ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको बताउनुभयो । उहाँका अनुसार आज बेलुकासम्मै वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ । पोखरेलका अनुसार बेलुकासम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । आज राति तराई भू–भागका केही ठाउँहरूमा तुँवालो रहने र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, भोलि तराई भू–भागका केही ठाउँहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ ।

रिप्लाई गर्नुहोस