त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जित्यो
काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जितेको छ । उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफका गीता राना र रेनुका नगरकोटेले १/१ गोल गरे । आर्मीकी जेनिफर रानाले गोल गरिन् । योसँगै विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो । अखिल नेपाल फुटबल सङ्घ एन्फाले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।