03:19PM
माघ १० गते २०८२

काठमाडौँ महानगरपालिकाका मेयर पदबाट बालेन्द्र शाहले राजीनामा दिए

माघ ५ गते २०८२
8:01 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर पदबाट आइतबार राजीनामा दिएका बालेन्द्र शाह साँझ जनकपुर पुगेका छन् । उनले समर्थकहरूलाई माघ ५ गते धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गर्ने सभामा उपस्थित हुन आग्रह गरेका छन् । जनकपुर विमानस्थलमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै शाहले भने, ‘अहिले भर्खरै यहाँ आइपुगेर तपाईँहरूलाई भेट्न पाउँदा एकदमै खुसी लागेको छ । साह्रै माया लागेको छ ।’ उनले आफूहरू पनि भर्खरै आइपुगेको बताउँदै भोलिको कार्यक्रमका लागि थोरै योजना बनाउनुपर्ने र त्यसको व्यवस्थापनको विषयमा बुझ्नुपर्ने जानकारी दिए । उनले थपे, ‘धनुषा जिल्ला प्रहरी प्रमुखसँग जिल्लामा आफ्नो कार्यक्रमको व्यवस्थापनको विषयमा कुरा गर्नेछौँ ।’

शाहले समर्थकहरूलाई शान्त रहन आग्रह गर्दै भने, ‘धेरै केही भन्न चाहन्न, भोलि फेरि भेटौँला । आजको लागि नआत्तिकन शान्त भएर बसिदिनू । भोलि कार्यक्रमस्थलमै सबै जना आउनुहोला।’ मेयर पदबाट राजीनामा दिएलगत्तै बालेन रास्वपाको घण्टीघरस्थित कार्यालय पुगेका थिए । त्यहाँ उनले पार्टीको वरिष्ठ नेताको पदभार ग्रहण गरेपछि सीधै जनकपुरतर्फ लागेका थिए । आइतबार साँझ जनकपुर विमानस्थलमा पुग्दा उनका समर्थकहरूले बालेन्द्र शाहको पक्षमा चर्को नाराबाजी गरेका थिए । रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा बृहत सभा आयोजना गर्दै छ । शाहले यही सभामा सहभागी हुन सबैलाई आग्रह गर्दै विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

रिप्लाई गर्नुहोस