पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
काठमाण्डौ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ । धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् । लामिछानेले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
लामिछाने अहिले नख्खु कारागारमा रहेका छन् । अदालतले विदेश यात्रा गर्न परेमा पूर्वजानकारी गराउनुपर्ने आदेश पनि दिएको छ । यसैबीच तुलसीपुर उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन् । जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै अदालतले छविलाई पनि निवेदन पेस गरेमा निर्णय हुने आदेशमा भनिएको छ ।