12:29PM
मंसिर १३ गते २०८२

नेकपा एमालेका ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा

मंसिर १० गते २०८२
7:01 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो । पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ । पोख्रेलको विज्ञप्तिमा भदौ २३ र २४ को दुवै दिनको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, पार्टीमा जबज कार्यान्वयनको समीक्षा गर्नुपर्ने, पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काउनुपर्ने लगायतका कुरा समेट्नुभएको छ ।

यसअघि पोखरेलले पार्टी सचिवालयको ६०औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने जानकारी गराउँदै अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा बस्न आग्रह गर्नुभएको थियो । त्यस बेला अध्यक्ष ओलीले नवौं र १०औं महाधिवेशन सम्झाउँदै मिलेर जान भन्नुभएको थियो । नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका माधवकुमार नेपालले पार्टी छाड्नुपरेको थियो भने १०औंमा प्रतिस्पर्धा गर्नुभएका भीम रावल पार्टीबाट निकालिनुभएको थियो ।

रिप्लाई गर्नुहोस