राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसअघि नेपाली महिला टोलीले भारतसँग मात्रै खेल्ने तय भए पनि इरानसँग पनि खेल्ने अखिल नेपाल फुटबल सङ्घ एन्फा ले जनाएको छ । एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ । यसअघि नेपाल र भारतबीचको खेल कात्तिक ९ गते सिक्किममा हुने तय भएको थियो ।
नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेले मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन् ।एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका फिफा प्रो लाइसेन्स प्राप्त बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो । नेपाली महिला टोलीले एशियन कप छनोटयता कुनै पनि खेल खेलेको छैन । फिफा वरीयतामा नेपाल ८९औं, भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।