पोखरा पुगे हायू परिवारलाई गाउँ फर्काउन वडाध्यक्ष रविन श्रेष्ठको आग्रह

काठमाडौं । गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षसहितको टोलीले उर्मिला भेटेर फर्किन आग्रह गरेको छ । उर्मिला र जेठा छोरालाई राखेर सम्भावित विपद्देखि वडा तथा स्थानीय र संघीय माननीयले गर्ने सहयोगको विषयमा जानकारी दिई थातथलो फर्किन आग्रह गरिएको वडाध्यक्ष रविन श्रेष्ठले बताए। ६ नं. वडाको छेत्पा नजिक भण्डास विप्पर कटेरीबाट ६ दिनअघि घर, चौपाया र पशुपक्षीलाई त्यत्तिकै छाडेर हायु परिवार पोखरा पुगेको थियो। हायु परिवार हराएको भनेर सोमबार दिनभर तथा राति अबेरसम्म सञ्चारमाध्यमको प्राथमिकता परेको थियो।
घर भएको जमिन खरिद गरिदिने, अस्थायी बसोबासका लागि वडामै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थालाई प्राथमिकतामा राख्ने वचन दिएको वडाध्यक्ष श्रेष्ठले बताए। उनले भने, मैले त तत्कालका लागि सदरमुकाम सिन्धुलीमाडीमा रहेको मेरो घर खाली छ, त्यहीँ गएर बस्नुस्। यो पोखरा जस्तो महँगो ठाउँमा तपाईँहरूलाई गाह्रो हुन्छ भनेर सम्झाएँ। छोरा तयार भए, तर आमा उर्मिला मानेकी छैनन्। जेठा छोरा राजु हायुले आमा, बहिनी भाइहरू मानेमा आफू फर्कन तयार रहेको बताएको वडाध्यक्ष श्रेष्ठले बताए।
सडक सुविधा, खानेपानी, स्वास्थ्य र शिक्षामा पहुँच नभएकाले परिवारका सदस्यले थातथलो फर्किन मन नगरेको जनाइएको छ। जति दुःख गरे पनि खानका लागि उब्जनीले तीन महिना पनि नधानेपछि हातमुख जोड्न सहर पस्नुको विकल्प नभएको गुनासो वडाध्यक्षसहितको टोलीसमक्ष हायु परिवारले राखेका थिए।
