अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को २४ औँ राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन आगामी तीन दिनसम्म जारी रहनेछ ।
त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए । राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घ सङ्गठनले युवाका विषयमा एकजुट हुनुपर्नेमा जोड दिए । अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बताइन् ।
